प्रथम जय हुमागाई स्मृति गोल्डकपको उपाधि बिवाईएससी अमेरिकालाई

उत्तम रिजाल,दमक/ झापाको दमकमा सम्पन्न प्रथम जय हुमागाई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि अमेरिकाको बिवाईएससी मिनिसोटाले जितेको छ । उसले दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा सम्पन्न खेलमा सलहेश युवा क्लब सिरहालाई एक शुन्यले पाखा लगाउँदै उसले उपाधि जितेको हो ।

उसलाई उपाधि दिलाउन जर्सी नम्बर ४ का मिगुएल पलाफक्सको गोल नै पर्याप्त भयो । उनले खेलको ३४ औं मिनेटमा थोमस सकोरले डिबक्समा दिएको क्रस पासमा हेड मार्फत दर्शनीय गोल गरेका थिए । त्यसपछि पनि बिवाईएससीले गोल गर्ने अबसर पाए पनि गोल गर्न सकेन् ।

उता सलहेश युवा क्लबका लागि अजय मार्टिन्स, फोडेफोफोना, रितिक खड्का र आशालाल चौधरीले गोलका अबसर पाएपनि गोल गर्न नसक्दा उसले उप विजेतामै चित्त बुझाउनु पर्यो । जितसँगै बिवाईएससी मिनिसोटाले नगद पाँच लाख हात पारेको छ । उप–विजेता सलहेशले नगद तीन लाखसँगै ट्रफी हात पारेको छ ।

फाईनल खेलको म्यान अफ द म्याच गोल कर्ता मिगुएल पलाफक्स भए । उनले नगद पाँच हजार हात पारे । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि विजयी टिमका हेक्टर ओर्टेगाले हात पारे । उनले नगद २५ हजार हात पारे । सर्वाधिक गोलकर्ता विजयी टिमकै रेने शान्तिलान भए । उनले १० हजार हात पारे ।

त्यस्तै उत्कृष्ट मिड फिल्डरको उपाधि सलहेश युवा क्लबका आशालाल चौधरी भए । उनले नगद ७ हजार हात पारे । उत्कृष्ट डिफेन्सको उपाधि सलहेशकै पिटर सेगुन भए भने उत्कृष्ट गोल किपरको उपाधि विजयी टिमका पुजन थापा मगरले हात पारे । उत्कृष्ट फरवार्डको उपाधि विजयी टिमका थोमस सकोरले हात पार्दा उत्कृष्ट प्रशिक्षकको उपाधि विजयी टिमकै प्रदिप हुमागाईले हात पारे ।

उनीहरुले जनही सात हजार समेत प्राप्त गरे । प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेश एकका सांसद होमबहादुर थापा, विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका नेता गगन पुरी, दमक ३ का वडा अध्यक्ष नविन बराल, क्याम्प उपसचिव टिबी राई, जय हुमागाई एण्ड फेमेली ट्रष्टका अध्यक्ष शिव हुमागाई, सदस्य घनश्याम हुमागाई, गोमा हुमागाई, सिरहा जिल्ला फुट्बल संघका अध्यक्ष अरुण शाह, बाघखोर प्रहरी चौकीका इञ्चार्ज माधव प्रसाद बजगाई, शसस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका प्रमुख भुप बहादुर खड्कालगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

गत ६ गतेदेखि संचालन भएको प्रतियोगितामा नेपाल, भारत, क्यामरुन र अमेरिकाका गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको आयोजना जय हुमागाई एण्ड फेमेली ट्रष्ट अमेरिकाले गरेको थियो ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com