सलहेस युवा क्लब सिरहा प्रथम जय हुमागाई स्मृति गोल्डकपको फाईनलमा

गिता दाहाल,दमक । सलहेस युवा क्लब सिरहा झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आज भएको खेलमा एभनिर एफसी क्यामरुनलाई एक शुन्यले पाखा लगाउँदै सलहेसले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

सलहेसका लागि दोश्रो हाफको ७ औं मिनेटमा अजय मार्टिनले गरेको गोल नै निर्णायक भयो । उत्कृष्ट खेल प्रदर्शन गर्नका बाबजुद आँफूले पाएका अबसर सदुपयोग गर्न नसक्दा एभनिर एफसी सेमिफाईनलबाटै बाहिरिएको छ । उसका सोङ्ग र टिम्बा टिम्बाले डिबक्स भित्र पाएको अबसरलाई सदुपयोग गर्न सकेनन् भने गिनीले प्रहार गरेको कडा प्रहार गोल रक्षक पुजन होनाले बिफल बनाएका थिए ।

त्यस्तै कप्तान अनिसेको हेडबललाई पनि पोन्ज गर्दै पुजनले बिफल बनाएका थिए । उता सलहेसका फोडे फोफोना, रितिक खड्का र सिमान्त थापाले पनि आँफूले पाएका अबसर खेर फालेका थिए । जितसँगै सलहेसले कम्तिमा ३ लाख रुपैयाँ सुरक्षित गरेको छ । सोमबार अन्तिम सेमिफाईनलमा उपाधि दाबेदार बिवाईएससी अमेरिका र शान्तिनगर एफसी सुनसरी आमनेसामने हुनेछन् ।

प्रतियोगिताको विजेताले नगद पाँच लाख तथा उप–विजेताले नगद तीन लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद पच्चिस हजार, सर्बाधिक गोलकर्ताले नगद दश हजार, विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ७ हजार हात पार्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई मेमोरियल ट्रष्टले गरेको हो ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com