शान्तिनगर एफसी जय हुमागाई स्मृति गोल्डकपको सेमिफाईनलमा

गिता दाहाल,दमक। बिआरसी पथरी शनिश्चरे मोरङलाई टाईब्रेकरमा पाखा लगाउँदै शान्तिनगर एफसी सुनसरी झापाको दमकमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुट्बल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । उसले टाईब्रेकरमा बिआरसी पथरी शनिश्चरेलाई ३–२ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो । निर्धारित समय सम्म खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा शान्तिनगरले बाजि मारेको थियो । उसका लागि उमेश राई,एकराज बुढाथोकी र विजय भुजेलले गोल गरेका थिए । उसका कप्तान उमेश कार्की र दोर्जे तामाङ्गको प्रहार गोलकिपर चरी लिम्बुले बिफल बनाएका थिए । उता पराजित बिआरसी पथरी शनिश्चरेका तर्फबाट भने मिलन लिम्बु र कप्तान साइमन लिम्बुले मात्र गोल गर्न सके । उसका मौसम लिम्बु, अभिषेक लिम्बु र मिलन राई पेनाल्टीमा चुकेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका गोलकिपर प्रविजय गच्छेदार घोषित भए । उनले नगद ५ हजार हात पारे । दमक ३ स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले नगद ३ लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार र विधागततर्फका उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार प्राप्त गर्नेछन् । शुक्रबार उपाधि दाबेदार टोली एभनिर एफसी क्यामरुन र भुट्नीज युथ क्बल बेलडाँगी आमनेसामने हुने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई ट्रष्टले गरेको हो ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com