सल्हेस युवा क्लब सिरहा प्रथम जय हुमागाई गोल्डकपको सेमिफाइनलमा

उत्तम रिजाल, झापा। सल्हेस युवा क्लब सिरहा झापाको दमक-३ स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

आज सम्पन्न उद्घाटन खेलमा झापाको विर्तामोड युनाइटेड फुटबल क्लबलाई टाईब्रेकरमा ४-२ ले पराजित गर्दै सल्हेसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित समय सम्म गोल रहित बराबरी भएपछि खेल टाईब्रेकर सम्म पुगेको थियो । टाईब्रेकरमा सल्हेसका लगातार चार पेनाल्टी गोलमा परिणत भएको थियो भने विर्तामोडका शुरुवाति दुई पेनाल्टी बाहिरिएको थियो । सल्हेसका फोडे फोफोना, रितिक खड्का, सिमान्त थापा र अजय मार्टिनले गोल गरेका थिए ।

पराजित विर्तामोडकातर्फबाट बिक्रम तामाङ र पदम भट्टराईले मात्र गोल गरेका थिए। खेलको म्यान अफ द म्याच विजयी टिमका जर्सी नम्बर २ का सिमान्त थापा भए। उनले नगद ५ हजार प्राप्त गरे । भोलि अन्तिम चार प्रबेशका लागि भुटानी शरणार्थी शिविर पथरी र शान्तिनगर एफसी सुनसरी आमने-सामने हुनेछन् । प्रतियोगिताको विजेताले नगद ५ लाख र उप-विजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार हात पार्दा विधागततर्फका उत्कृष्ट खेलाडीले नगद ७ हजार हात पार्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, क्यामरुन र अमेरिकाका गरि ८ टिमको सहभागिता रहेेको यस प्रतियोगिताको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले उद्घाटन गर्नु भएको थियोे ।

सो क्रममा स्वर्गीय जय नारायण हुमागाईको प्रतिमा स्तभको प्रमुख अतिथि न्यौपानेले अनाबरण पनि गर्नु भएको थियोे । सो खेल मैदान करिब ३५ लाख लगानीमामा स्वर्गीय हुमागाईका सुपुत्र शिव हुमागाई र उनको परिवारले निर्माण गरेको हो । त्यहाका दुई तीन वटा रुख हटाईएमा हुमागाई परिवारले अन्तरास्ट्रिय स्तरको प्याफिटसहितको रंगशाला बनाईदिने पनि बताएका छन् ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com