दमक र विर्तामोड दोश्रो दमक कप भलिबल प्रतियोगिताको सेमिफाईनलमा

दमक।  झापाको दमकमा जारी दोश्रो दमक कप भलिबल प्रतियोगितामा लगातार जित हात पार्दै आयोजक दमक दोश्रो दमक कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । दमकले गौरादह नगरपालिकामाथी सोझो सेटमा जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

दमकले गौरादहलाई २५–१७, २५–२० र २५–१५ ले पराजित गरेको थियो । दमकले अब फाईनल प्रबेशका लागि बिहीबार कनकाई नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । कनकाईले बुधबार नै सम्पन्न खेलमा मेचीनगर नगरपालिकामाथी जित हात पारेको थियो । कनकाईले मेचीलाई २५–१३, २१–२५, २५–२७, २५–२२ र १५–११ ले पराजित गर्दै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

त्यस्तै अन्य खेलमा जित हातपार्दै विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिका पनि प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेका छन् । विर्तामोडले उपाधि दाबेदार भद्रपुर नगरपालिकालाई २५–२१, १७–२५, २५–१७, २०–२५ र १५–१३ ले पाखा लगाएको थियो ।

उता बुद्धशान्तिले भने अर्जुनधारा नगरपालिकालाई २५–१३, २६–२८, २५–१०, २३–२५ र १५–११ ले पराजित गरेको थियो । जितसँगै बुद्धशान्तिले विर्तामोडसँगको भेट पक्का गरेको छ । उसले पहिलो सेमिफाईनलमा विर्तामोडसँग बिहीबार विहान ९ बजे प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै बिहीबार नै देश्रो सेमिफाईनलमा दमक र कनकाई विहान ११ बजे आमने–सामने हुनेछन् । फाईनल खेल पनि बिहीबार नै हुनेछ । सो खेल दिउँसो पौने तीन बजे शुरु हुनेछ । प्रतियोगिताको विजेताले नगद एकाउन्न हजार हात पार्नेछ भने उप–विजेताले नगद एकतीस हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाईनलबाट बाहिरीने टोलीले नगद पाँच हजार हात पार्नेछन् । प्रतियोगितामा १२ पालिकाहरुको सहभागिता रहेको छ । दमक भलिबल संघको आयोजनामा जारी प्रतियोगिता हिमालय माविको खेल मैदानमा भइरहेको छ ।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com