दमकको सौन्दर्यकरणमा जुटे सबै संघसंस्था, सरसफाई अभियान शुरु, रतुवा पुलदेखि वालुवाटारसम्म टिकटक रोड बन्दै

dmk hospital3

दमक। झापाको दमकलाई पर्यटकीय नगर बनाउन सौन्दर्यकरण अभियान शुरु गरिएको छ। दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा गठित कार्य सम्पादन उप समितिले अभियान शुरु गरेको हो।

आजदेखि शुरु गरिएको सो अभियानमा दमकका विभिन्न २२ संघसंस्थाको सहभागिता रहेको छ। आज रतुवा पुलदेखि वालुवाटारसम्म सरसफाई गरिएको छ। साथै रतुवा नदीको बाँध पूर्वको जमिन एक महिना भित्र खाली गर्न वडा नम्बर-८ का वडा अध्यक्ष पशुपति राज गौतमले त्यहाँका बासिन्दालाई अल्टिमेटम समेत दिनुभएको छ।

सफाइ अभियान शुरु गर्नु अघिको कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गौतमले यस्तो अल्टिमेटम दिनुभएको हो। कार्यक्रममा वडा नम्बर-६ का वडा अध्यक्ष टेकबहादुर थापाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यस अभियानमा सबैको साथ हुनुपर्ने बताउनुभयो।

त्यस्तै लायन्सकर्मीहरुको प्रतिनिधित्व गर्दै लायन्स लिडर ज्ञान नाथ पौडेलले यस अभियान सबैको साझा अभियान भएकाले दमक सौन्दर्यको लागि राजनीति भन्दा माथि उठेर काम गर्न अनुरोध समेत गर्नु भयो।

लिडर पौडेलले सबै संघसंस्थाको सहयोग रहने प्रतिवद्धता समेत जनाउनु भयो। कार्य सम्पादन उपसमिति का संयोजक खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रम उद्योग वाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले संचालन गर्नु भएको थियो। सफाइ अभियानमा दमक उद्योग वाणिज्य संघ, पहिलो पाइला, रोटरी क्लब, विभिन्न लायन्स क्लबहरु, दमक रेडक्रस, राजनीतिक कर्मी लगायतको उपस्थिति रहेको थियो।

 

 

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com