बैंग्लोरको लगातार दोस्रो जित

ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंग्लोरले दोस्रो जित निकालेको हो।

बैंग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३७ बलमा ७ चौका र एक छक्का प्रहार गरे। वार्नर आउट भएसँगै धरमराएको हैदरावादको व्याटिङ्ग लाइन धरासायी हुँदा उसले लगातार पराजय भोग्नु पर्यो ।

त्यस्तै मनिस पाण्डेले ३९ बलमा २ चौका र २ छक्का हान्दै ३८ रन जोडे। यता राशिद खानले १७ रन बनाए। उनले ९ बलमा एक छक्का र एक चौका हाने। जोनी बेयर्स्टो १२ रनमा आउट भए भने अन्यले दोहोरो अंक छुन सकेन।

२ ओभरमा ७ रन खर्चिएका बैंग्लोरका शाहबाज अहमेदले ३ विकेट लिए। मोहमद सिराजले २ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। यस्तै हर्षत पटेलले ४ ओभरमा २५ रन खर्चिएर २ विकेट लिए। केली जेमिसनले ३ ओभरमा ३० रन दिएर १ विकेट हात पारे।

यसअघि चेन्नईस्थित एमए चिदंबरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। बैंग्लोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

यस्तै कप्तान बिराट कोहलीले २९ बलमा ४ चौकाका साथ ३३ रन जोडे। शाहबाज अहमेदले १४ तथा केली जेमिसनले १२ रन बनाउँदा देबदुत पडिकलले ११ रनको योगदान दिए। हैदरावादका जसन होल्डरले ३ विकेट लिए। उनले ४ ओभरमा ३० रन खर्चिए। ४ ओभरमै १८ रन खर्चिएका राहिद खानले २ विकेट हात पारे।

Share this Post :
Facebook Auto Publish Powered By : XYZScripts.com